मलाई कहिलेकाहीँ सोध्छन्, “संसारको जुनसुकै देशको नागरिकता लिएर बस्न सक्ने मान्छे, किन नेपाल जस्तो अप्ठ्यारो अवस्थाको विपन्न मुलुकसँग जोडिएर बसेको? किन नेपालमा काम गरिरहेको?” उनीहरूलाई मेरो सरल उत्तर हुनेगर्छ, “नेपालमा मेरो सबैभन्दा ठूलो स्वार्थ छ।”
भूमण्डलीकरणका प्रभावहरू संसारभर प्रबल छन्। धेरै देशले नागरिकता नीति लचिलो बनाएका छन्। खासगरी धनी, विशेषज्ञ, बुद्धिजीवीहरूलाई नागरिकता दिएर देश विकासमा सामेल गराउने नीति धेरैको छ। तर, मेरो अनुभवमा विश्वका जुनसुकै देशको नागरिकता लिए पनि मेरो स्वभाव, चालचलन, हाउभाउ, रुपरङ, पर्वहरू फेरिँदैनन्। एउटा नेपालीले अमेरिकी नागरिकता लिए पनि संस्कृतिमा ऊ नेपाली नै रहन्छ। तपाईंले कतै “म अमेरिकी नागरिक हुँ” भन्नेवित्तिकै अर्को प्रश्न आइहाल्छ, “खास 'रिजिन चाहिँ कहाँ हो?”
त्यहीँ जन्मेका हाम्रा सन्तानलाई पनि “तिम्रो बुबाआमा कुन देशबाट आएका नि?” भनेर सोध्छन्। यो प्रश्न यसकारण स्वाभाविक हुन्छ; रङ, अनुहार, चालचलन, स्वभावले नै तपाईं अमेरिकी होइन भनिरहेको हुन्छ। त्यसपछि गरिने व्यवहार तपाईंको मूल देश हेरेर हुन्छ। नेपालमै पनि कुनै व्यक्ति अफगानिस्तानबाट आएको भनेपछि उसको विद्वत्ता वा सफलता जतिसुकै ठूलो भएपनि उसलाई हामी अफगानिस्तानको दुरवस्थाबाट हेर्न थाल्छौं। एउटा साधारण अमेरिकीको आगमनलाई पनि सल्लाह दिन वा सहयोग गर्न आएको भनेर सोचिन्छ।
अर्थात् नागरिकता फेर्दा जरो फेर्न सकिन्न। मेरो मूल देश समृद्ध नहुँदासम्म कुनै अर्को धनी देशको नागरिकको शान मेरो भागमा पर्दैन। मेरा छोराछोरी र नातिनातिना समेत यस्तो हीनताबाट मुक्त हुन सक्दैनन्। अहिले विदेशमा सानोतिनो काम गर्नेदेखि बुद्धिजीवी, प्राध्यापक, व्यापारी सबैमा हीनताबोध छ; बाहिर व्यक्त नगरे पनि। देशको अवस्थाले गर्दा हामीले जति नै राम्रो काम गरे पनि राम्रो मूल्याङ्कन भइरहेको हुँदैन।
त्यसैले आफू जन्मेको देश समृद्ध हुनु ठूलो कुरा हो। देश समृद्ध भयो भने हामीले विदेशको नागरिकता लिन लालायित हुनै पर्दैन। विदेशीहरू नै नेपाली नागरिकता माग्न आउलान्। त्यस अवस्थामा हामीले अर्को देशको नागरिकता लियौं भने पनि इज्जत बढ्छ। त्यसकारण एउटा समृद्ध देशको नागरिकका रूपमा चिनिनु मेरो स्वार्थ हो। त्यसैले सकेको पहल गरिरहेको छु। नेपाललाई समृद्ध बनाउन चार पाँच पुस्ता लाग्ने देखेको भए कुनै विकसित देशको नागरिकता लिने निर्णय पनि गर्थें कि?
नेपाललाई छोटो समयमै, १०-१२ वर्षभित्रै, सबैले देख्ने र अनुभव गर्ने गरी समृद्ध बनाउन सकिन्छ। यसोभन्दा नेताले झ्ैं भाषण गर्यो नभन्नु होला। सन् १९९० मा रूसको सुरक्षा र राजनीतिक अवस्था अहिलेको नेपालको जस्तै थियो। तर, सरकार बलियो भएको दुई महिनामै नागरिकले सुरक्षित महसुस गरे। आफूलाई रसियन भन्दा हीनताबोध गर्नेहरू गर्व गर्न थाले। हामीकहाँ पनि सरकार इमानदार भएर अगाडि बढ्न खोजेको भोलिपल्ट जनताले साथ दिन्छन्। दोस्रो विश्व युद्धताका यहुदीहरूलाई आफूलाई यहुदीको रूपमा चिनाउन गाह्रो पर्थ्यो। तर, इजरायलको स्थापनापछि यहुदीहरूको इज्जत संसारभरमै बढ्यो। नेपालमा भएका केही सय यहुदीहरू अहिले आफ्नो नयाँ वर्ष र अन्य चाडपर्व धुमधामका साथ मनाउँछन्। इजरायल गरिब भएको भए यस्तो हुने थिएन।
भौगोलिक हिसाबले नेपाल सानो देश भएकाले पनि विकास गर्न सजिलो छ। तेल र ग्याँस छैन, समुद्रले छोएको छैन भन्नु बेकारका कुरा हुन्। तेल र ग्याँस भएको इराक खै धनी देश भएको? हामीसँग विकसित देशहरूले चाहेर पनि बनाउन नसक्ने प्राकृतिक सुन्दरता र जडिबुटीको खानी छ। देश विकासका लागि नेपालीले खाली आक्रामक रूपमा अगाडि बढे पुग्छ। राजनीतिमा आक्रामक हुनसकिन्छ भने विकासमा किन नसक्ने? संस्कृतिमा चाहिँ क्रमिक परिवर्तन हुनुपर्छ।
सन् २००३ मा गैर-आवासीय नेपाली सङ्गठन बनाउन विभिन्न देश घुम्दा म नेपालमा हिंसा छ, भ्रष्टाचार छ, सुरक्षा छैन, खत्तम भयो भनेको सुन्थें। अनि त्यसलाई सुधार्न के गर्न सकिएला त भन्दा हामीले गर्दैमा के हुन्छ र! भन्ने सुनिन्थ्यो। अहिले तिनै व्यक्तिहरू नेपालमा के गर्न सकिन्छ भनेर गम्न थालेका छन्। देशका लागि अहिलेसम्म केही नगरेकोमा सङ्कोच मानिरहेका छन्। देशको लागि योगदान गर्न सम्पत्तिको थुप्रो चाहिँदैन, मन भए पुग्छ भन्ने भावना बढेको छ। रोजगारीका लागि खाडी मुलुक गएकाहरू समेत एक-दुई दिनको कमाई देशका लागि अर्पण गर्न लाइनमा बस्न थालेका छन्। आफूले कमाएको एक-दुई सयले भोलि देश समृद्ध भएपछि आफैंलाई फाइदा पुग्छ भन्ने उनीहरूको बुझ्ाइ छ।
प्रतिष्ठित भएर बाँच्न आफ्नोपन को पनि त्यतिकै भूमिका हुन्छ। दुर्भाग्य के छ भने, जीवन सङ्घर्ष वा कामको व्यस्ततामा हामी आफ्नोपन-नेपालीपनका कुरा सोच्नै भ्याउँदैनौं। बुढेसकालमा ती कुराको अभाव खट्किँदा समय घर्किसकेको हुन्छ। आफ्नोपनको सबभन्दा ठूलो माध्यम भाषा रहेछ। एकताका नेपालीहरूको भेलामा अङ्ग्रेजीमै बोल्ने अनि नेपाली भाषाको महत्वका बारेमा पनि अङ्ग्रेजीमै व्याख्यान दिने फेशन चलेको थियो। तर, नेपाली हुनलाई नेपाली भाषा चाहिँदो रहेछ। नेपाली संस्कृतिबारे विदेशीलाई अङ्ग्रेजीमा बुझ्ाउन सकिएला तर, नेपाली भाषाविना नेपाली संस्कृति जाने पो अरूलाई बुझ्ाउनु!
यसैका लागि हामीले बालबच्चालाई नेपाली भाषा सिकाउने अभियान चलायौं, भाषासँगै संस्कृति सिकुन् भनेर। कतिपय साथीहरू गैर-आवासीय नेपाली कार्यक्रममा भाषा अङ्ग्रेजी हुनुपर्छ भन्नुहुन्थ्यो। तर, मैले नेपालीहरूबीच सम्पर्क भाषा नेपाली हुनुपर्छ भन्ने अडानै लिएँ। म मातृभाषाका रूपमा मैथिली बोलेर हुर्किएँ, तर नेपाली भाषाविना मातृभूमिका मेरा सबै बन्धुबान्धवले बुझनेगरी कुराकानी गर्न सक्दिनँ। देश बाहिर बसेका नेपालीहरूलाई आपसमा जोड्ने सबभन्दा बलियो सूत्र पनि यही भाषा हो। त्यसकारण म नेपाली भाषालाई लादिएको भाषा ठान्दिनँ।
नेपाललाई टुक्र्याएर कुनै पनि जातिको स्वाभिमान स्थापित हुन्छ जस्तो लाग्दैन। हरेक जातिको रीतिस्थिति फरक छ। त्यसलाई जोगाउनुपर्छ, पिछडिएकाहरूलाई समृद्ध बनाउनुपर्छ। तर, यी कुराहरूमा क्षेत्रीय, जातीय राजनीति जोडिनुहुँदैन। विश्वमा अहिले ठूलो समूह बनाउने चलन बढेको छ। युरोपियन युनियन नभएको भए युरोपका देशहरू अहिले जति बलिया हुने थिएनन्। मानिसले आफूलाई समयअनुसार बदल्नुपर्छ। नेपालका सबै जाति र क्षेत्रको समृद्धि सग्लो नेपालमा मात्र सम्भव छ।
From Himal Khabar Patrika :http://himalkhabar.com/news.php?id=3178
1 comment:
This is so true. No matter where you go, you will remain Nepali and people will consider you so.
What Upendra Mahato said about his perceived identity were he to live in America is 100% accurate. People will almost instinctively ask you about your heritage if you don't look white.
Post a Comment