यी वैलाएका कलिजस्ता गल्लीहरुमा
हेर्छु एक- दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको ईतिहास
यो बाटोको बीचमा माटो खनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यो भुकम्पपीडित मन्दिर
र
ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजुरहरु
जब देख्छु म यी सबलाई
सधैं त्यहीं - सधैं उस्तै र
सधैं एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको ईतिहास
जब म
असङ्ख्य ्सीताहरुलाई सधैं
बाटो- दोबाटोमा,
गल्ली- गल्लीमा,
बजार- बजारमा,
देश- बिदेशमा,
युक्लिप्तसका रुखझैं नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल चूपचाप उभिएका
आफनो आत्माको गीत झारेर
कल्कीका बोटझैं
दुवै हात तल झारेर
तब मलाई गरुँ- गरुँ झैँ लाग्छ
आफ्नै रगतको उपहास
जब म
यी भोकमा डूबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लीहरुमा
हेर्छु एक- दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको ईतिहास
सुन्छु: अमरसिंह काँगडासम्म बढेको कुरा
सुन्छु: तेन्जिङले सगरमाथा चढेको कुरा
सुन्छु: बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सुन्छु: अर्निकोको कलाले विश्व- मन हरेको कुरा
सुन्छु: सधैं सुन्छु र केवल सुन्छु
तर मलाई हुँदैन विश्वाश
जब म
यी भोकमा डूबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लीहरुमा,
हेर्छु एक-दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको ईतिहास
यो मेरो सत्य ईतिहास